मूल्य आम्दानी अनुपात भनेको के हो ?

मूल्य आम्दानी अनुपात भनेको के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कम्पनीको तत्कालको सेयर मूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात अर्थात पीई रेसियो भनेर बुझिन्छ।  धितोपत्रको दोस्रो बजारमा कारोवार भएका र नाफा कमाएका कम्पनीको मात्र मूल्य आम्दानी अनुपात निकाल्न सकिन्छ । घाटामा गएका कम्पनीहरुको मूल्य आम्दानी अनुपात निकाल्न सकिँदैन ।

कम्पनीले कमाएको एक रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ ।

जस्तै कुनै कम्पनीको अहिले बजार मूल्य ४०० छ र उसको प्रतिसेयर आम्दानी २५ छ भने बजारमूल्यलाई सो कम्पनीको आम्दानीले भाग गरेर निकालिन्छ । जस्तो ४०० र २५ बराबर १६ गुणा अनुपात निक्लन्छ । यसको मतलब कम्पनीले कमाएको एक रुपैयाँ आम्दानी बराबर बजारमा लगानीकर्ताले १६ रुपैयाँ तिरिरहेको छ भन्ने बुझिन्छ ।

मूल्य आम्दानी अनुपातलाई बजारमा रहेका दुई कम्पनीबीच सेयर खरीद गर्दाको तुलना गर्ने एउटा महत्वपूर्ण औजारको रुपमा समेत प्रयोग गर्न सकिन्छ । यद्यपी मूल्य आम्दानी अनुपात कम्पनी छनौट गर्ने महत्वपूर्ण औजार भएता पनि दोस्रो बजारमा प्रवेश गर्दा भने बजारको ट्रेन्ड, सम्बन्धीत कम्पनीको ३६५ दिनको बजारमुल्य, देशको राजनीतिक तथा आर्थिक वातावरण, विश्व परिवेश, राजनीतिक घटनाक्रम, प्राविधिक तथा नीति नियममा भएका परिवर्तनको साथसाथै कम्पनी र बजारको बारेमा विस्तृत अध्ययन गरेर मात्र प्रवेश गर्नुपर्छ ।

सेयरमा लगानी गर्दा तुलनात्मक रूपमा कम मूल्य अनुपात भएका कम्पनी छनौट गर्नुपर्छ तर कम मूल्य अनुपात भएका कम्पनीप्रति लगानीकर्ताका विश्वास कम भएको रुपमा पनि बुझिन्छ । धेरै पीई रेसियो हुन भनेको कम्पनीको सेयर खरीदका लागि लगानीकर्ताले बढी मूल्य तिर्न तयार हुनु पनि हो ।

सामान्यतया मूल्य आम्दानी अनुपात १० देखि २० गुणासम्म भएको सेयर सही मूल्यांकन भएको मानिन्छ । शुन्य देखि १० गुणासम्म मूल्य आम्दानी अनुपात भएका सेयरहरु या त वास्तविक मूल्यभन्दा कम मूल्यांकन भएको मानिन्छ या हाल कम्पनीको आम्दानी अप्रत्यासित रूपमा वृद्धि भई उक्त अनुपात कम हुन गएको भन्ने बुझिन्छ ।

त्यसैगरी, २० देखि २५ गुणासम्म अनुपात भएका सेयर या त बढी मूल्यांकन भएका मानिन्छ या यसले भविष्यमा कम्पनीको आम्दानी उच्च हुने संकेत गर्दछ । २५ गुणाभन्दा माथि मूल्य आम्दानी अनुपात भएका सेयरहरु या त धेरै अनियमितता वा सट्टेबाजी गर्न खोजिएको मानिन्छ । बजारमा यस्ता सम्भावना छैन भने त्यस्ता कम्पनीको आम्दानी भबिस्यमा उच्च दरले वृद्धि हुने सम्भावना छ भन्ने बुझिन्छ ।