हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा दुई पटक म्याद थप गरेर जेठ २३ गतेसम्मको मिति तय गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाखको ८ दशमलव २२ प्रतिशत शेयर स्थानीयमा विक्री गर्न लागेको हो ।

प्रतिशेयर १०० मूल्यका ९ करोड बराबरको ९ लाख कित्ता साधारण शेयर स्थानीयनले खरीद गर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुहरुले यो शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

आवेदकहरुले न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म माग गरी आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

हाल संस्थापकतर्फ ८७ करोड चुक्तापूँजी कायम रहेको कम्पनीले स्थानीयमा आईपीओ जारी गरेपश्चात् सर्वसाधारणमा कर्मचारी सहित १२ दशमलव ३३ प्रतिशत शेयर जारी गर्नेछ । हाल संस्थापक तर्फ ७९ दशमलव ४५ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख पुग्नेछ।

कम्पनीले कास्की जिल्लामा ११ दशमलव ८८ मेगावाट क्षमताको नामार्जुन मादी जलविद्युत आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।