गभर्नरलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

गभर्नरलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । देउवाले आइतबार फोन मार्फत अधिकारीलाई सो निर्देशन दिएका हुन् ।

नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पुँजीबजारमा देखिएका समस्या हल गर्न निर्देशन दिएका हुन् ।लगानीकर्ताले पुँजीबजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराएपछि प्रधानमन्त्री देउवाले गर्भनर अधिकारीलाई फोन गरेका हुन् । लगानीकर्ताको अबस्था गम्भीर भैसकेको भन्दै प्रधानमन्त्री देउवाले लगानीकर्ताहरुको माग तुरुन्त सम्बोधन गरिदिन गर्भनरलाई फोनबाटै निर्देशन दिएका हुन् । साथै, लगानीकर्ताहरु फलोअपको लागी जेठ २३ गते नेपाल राष्ट्र बैंक जाने समेत गर्भनरलाई जानकारी गराए ।

नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र सदस्यहरुले प्रधानमन्त्री देउवालाई भेटी पछिल्लो सेयर बजारको अवस्था, सेयर बजारमा परेको दवाव, ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी लगायतको बारेमा अवगत गराएका थिए ।

भेटका क्रममा संघले प्रधानमन्त्री देउवालाई नेपाली पुँजीबजारको वर्तमान अवस्थालाई उजागर गर्दै ४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।  ज्ञापनपत्रको पहिलो बुँदामा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्न माग गरिएको छ । 

यसैगरी दोस्रो बुँदामा सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडी कायम गर्न माग गरिएको छ ।  ज्ञापनपत्रको तेस्रो बुँदामा भारित औसतदर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औसत दर १०० कायम गर्नुपर्ने माग गरिएको छ ।  यसैगरी चौथो बुँदामा पुँजीबजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्ने बैंकलाई ब्रोकर लाइसेन्स दिन पनि माग गरिएको छ ।