बैंकिङ्ग समाचार, काठमाडौं ।
बैशाख २२ गतेदेखि विक्रीमा आएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गरिएको हो । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।
छिटो अवधि जेठ ५ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि जेठ २० गतेसम्म विक्रीको मिति तय गरेको थियो । इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा विक्री भैरहेको हो ।
प्रतिक्रिया