आजदेखि धितोपत्र बजार खुल्यो, यो सातादेखि शुक्रबार पनि सेयर कारोबार

आजदेखि धितोपत्र बजार खुल्यो, यो सातादेखि शुक्रबार पनि सेयर कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

धितोपत्र बजारमा पाँच दिनपछि आज मंगलबारदेखि कारोबार सुचारु भएको छ । गत बिहीबार (बैशाख २९ गते) कारोबार भएपछि मंगलबारदेखि नियमित सेयर कारोबार हुन लागेको हो ।

यसबीचमा शुक्रबार स्थानीय तह निर्वाचन र सरकारले हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएपछि आइतबार बजार बन्द रह्यो । सोमबार उभौली तथा बुद्ध जयन्ती पर्वका कारण सार्वजनिक विदा रहेकाले सेयर कारोबार हुन सकेन ।

आजदेखि भने शुक्रबारसम्म नियमित सेयर कारोबार हुँदैछ । । सरकारले हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएपछि अब शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । पहिले सातामा आइतबारदेखि बिहीबारसम्म हुने गरेको सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म हुने भएको हो । अब आइतबारको ठाउँमा शुक्रबार सेयर कारोबार हुनेछ ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सोमबारदेखि शुक्रबारसम्म बजार सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।यसअनुसार नेप्सेले पनि जेठ महिना देखि आइतबारको ठाउँमा शुक्रबार सेयर कारोबार हुने जनाइसकेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेप्सेलाई ५ दिन नै सेयर कारोबार गर्ने निर्देशन दिएको बताए । सेयर खरिद(बिक्री केन्द्रबाट वि। सं। २०५० मा नेपाल स्टक एक्सचेन्जको रुपमा रुपान्तरण भएसँगै सेयर बजार ५ दिन खुला रहने गरेको थियो। सुरूमा दैनिक दुई घण्टा कारोबार हुने बजार हाल दैनिक ४ घण्टा खुला रहने गरेको छ । 

सरकारले पेट्रोलियम पदार्थ खपत काम गर्न भन्दै परिक्षणको रूपमा हप्तामा शनिबार र आइतबार बिदा दिएको हो । यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको थियो भने शुक्रबार ‘अड’ लटको मात्र कारोबार हुँदै आएको थियो । यसअघि अन्य दिन एक पटकमा न्यूनतम १० कित्ता सेयर कारोबार गर्न सकिने र शुक्रबार भने सोभन्दा कम सेयरको पनि कारोबार गर्न सकिने व्यवस्था थियो । तर २०७३ यता भने नियमित कारोबारमै १ कित्तासम्म सेयर किन्न सकिने व्यवस्था भएसँगै शुक्रबार अडलट कारोबार हुन छाडेको थियो ।

बैशाख २९ गते बिहीबार सेयर बजार सूचकनेप्से १८.६४ अंकले घटेर २३५०.४२ विन्दुमा आएको छ । ४ दिनको अवधिमा सेयर बजार करिब १३० अंकले बढेपछि बिहीबार अल्पकालीन कारोबारीहरु नाफा बुक गर्न सक्रिय हुँदा सूचकमा दबाब परेको थियो । सूचक घटेपनि बिहीबार खरिदबिक्री रकममा भने थप सुधार आएको थियो । आज बिहीबार बन्द भएको बिन्दुबाटै कारोबार सुचारु हुनेछ ।

निरन्तर घटेको सेयर बजारमा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भएको छ । भाउ सस्तो भएपछि लगानीकर्ता बजारप्रति आकर्षित भएका छन् । बैंकर्स संघले जेठमा पनि ब्याजदर नबढाउने भएपछि लगानीकर्तालाई राहत मिलेको छ । लगानीकर्तालाई बैंक ब्याजदरले पनि थप आशावादी बनाएको छ । चुनावका लागि बजारमा आएको पैसा विस्तारै वित्तीय प्रणालीमा भित्रिने विश्लेषण गरिएको छ । जसले तरलताको समस्या पनि केही मात्रामा समाधन हुनेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् ।