प्रयोगकर्ताको संख्या बढ्दा पनि भदाैमा घट्याे मोबाइल बैंकिङ्ग र वालेटबाट हुने भुक्तानी 

प्रयोगकर्ताको संख्या बढ्दा पनि भदाैमा घट्याे मोबाइल बैंकिङ्ग र वालेटबाट हुने भुक्तानी 


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्यामा साढे दुई लाख बढीले बढेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २  लाख ३४ हजार ९ सय ५७  ले बढ्दै २ करोड ५२  लाख ७  हजार १ सय २२  पुगेको छ । साउन मसान्तसम्म ३  २ करोड ४९ लाख ६१ हजार १ सय ६५ रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या भदौमा बढेको हो । 

अघिल्लो भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड १६ लाख ९१ हजार ४७४ थियो। गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको सङ्ख्या ३२ लाख ६९ हजारले बढी हो। गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड १९ लाख लाख ५७ हजार ६९२ थियो ।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको पनि सङ्ख्यामा पनि सामान्य वृद्धि देखिएको छ । साउनको तुलनामा भदौमा वालेट प्रयोगकर्ताको सङ्ख्या ६ हजार ८२५ ले बढेको हो । साउनसम्म २ करोड ४२ लाख ५७ हजार ६५६ रहेको वालेट प्रयोगकर्ताको सङ्ख्या भदौमा २ करोड ४२ लाख ६४ हजार ४८१ पुगेको छ । 

गत वर्षको भदौमा वालेट प्रयोगकर्ताको सङ्ख्या १ करोड ९९  लाख २२ हजार ४४३ रहेको थियो ।  भदौमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या भने २३ हजार ९९० ले बढेको छ। हाल देशमा १९ लाख ८६  हजार ८१७ जना इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता छन् ।

भदौमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। साउनमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँको भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ। साउनमा ४३ अर्ब भुक्तानी भएको थियो ।