दशैंपछिको पहिलो कारोबारमा शेयर बजार २७ सयको आसपासमा, ३ अर्ब बढीकाे काराेबार

दशैंपछिको पहिलो कारोबारमा शेयर बजार २७ सयको आसपासमा, ३ अर्ब बढीकाे काराेबार


काठमाडौं – दसैंका कारण बन्द भएको शेयर बजार आजबाट खुलेको छ । असोज २३ गतेपछि आज खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३१.४८ अंकले बढेर २६९९.६६ को विन्दुमा बन्द भएको छ।

आज शेयर बजारमा कारोबार भएका ३०७ वटा कम्पनीहरुको ६३ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटा बढेको छ भने एउटा मात्रै घटेको छ। उत्पादन समूह ०.२२ प्रतिशत घट्यो । फाइनान्स सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत बढ्यो ।

आज बैंकिङ्ग १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढ्याे ।

आज शेयर बजार बढेसँगै गूडविल फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज १०७७ रुपैयाँले १८ करोड पाँच लाख रुपैयाँको कारोबार भएको छ । आज ३ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ।