सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

सिटिजन्स बैंकको शेयरमूल्य समायोजन


काठमाडौं – सिटिजन्स बैंकको शेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको शेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज गर्दैछ । दसैं बिदा भएका कारण असोज २३ गते अन्तिम कारोबार मानी शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

बैंकको ४ प्रतिशत बोनस सेयर समायोजनपश्चात् बैंकको शेयर मूल्य २४३.२७ रुपैयाँ कायम भएको छ । असोज २३ गते बैंकको सेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बैंकले कात्तिक १२ गते, सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।