नेशनल माइक्रोफाइनान्सको नाफा ३५% ले बढे पनि ईपीएस भने घट्यो

नेशनल माइक्रोफाइनान्सको नाफा ३५% ले बढे पनि ईपीएस भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.१८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.५१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३६.०१ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३५.१८ प्रतिशत बढेको छ ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ४४ पैसा घटेर ७६ रुपैयाँ ५५ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८३.६३ प्रतिशत बढेको छ भने जगेडा कोष ७८.४८ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ३६.६७ प्रतिशत, निक्षेप ४९.५७ प्रतिशत र कर्जा ४६.५९ प्रतिशत बढेको छ ।