बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्ने भएको छ ।
जसका लागि सरकारले टास्कफोर्स बनाएर तयार पारेकोे प्रतिवेदन मन्त्रिपरिषदबाट पारित भएपश्चात कार्यविधि बनाएर कार्यान्वयनमा आउने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पूँजीबजार सम्मेलनमा हमालले यस्तो प्रक्रिया दुई महिनाभित्र पुरा हुने बताए । आगामी आर्थिक वर्षको सुरुवातबाटै यो व्यवस्था लागू गर्ने बोर्डको तयारी छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई दुई महिनाभित्र आइपीओमा छुट्टै कोटा उपलब्ध गराउने उनले बताए । घट्दो विदेशी मुद्रा सञ्चित बढाउन र रेमिटन्स बढाउन आइपीओमा श्रमीकहरुलाई कोटा छुट्याउने र रेमिट्यान्सलाई बैंकिङ् च्यानलबाट भित्र्याउन प्रोत्साहन गर्ने उनले बताए ।
उनले भने "टास्क फोर्सले प्रतिवेदन बुझाएर अर्थमत्रालयसँग पनि छलफल भइसकेको छ," उनले भने, "२ महिनाभित्रमा कार्यान्वयन गर्छौ ।"
साथै बोर्डले बुकबिल्डिङमा प्रक्रियालाई अत्याधिक पारदर्शी बनाउन लागिएको पनि जानकारी दिए । रियल सेक्टरका कम्पनीहरुलाई पूँजीबजारमा समावेश गराउने प्रक्रिया तथा मूल्यांकन एकदमै पारदर्शी बनाउनका लागि बोर्ड कटिवद्ध रहेको उनको भनाई छ ।
प्रतिक्रिया