बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.सं. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफले यस अवधिमा आफूलाई अझै अब्बल र सशक्त बनाउँदै लगेको छ । पछिल्लो तथ्याङ्क अनुसार कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफले मात्रै एक चौथाइ अर्थात २५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
जीवन बीमा व्यवसाय शुभारम्भ गरेको २१ वर्षको अवधिमा विगत १२ वर्षदेखि अग्रणी स्थानमा रहदै आएको कम्पनीले यस दौरानमा १ खर्ब ७० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भइसकेको छ । कम्पनी स्थापना हुँदा जीवन बीमा कोष ८ लाख ७ हजार रुपैयाँ मात्रै थियो । आजका दिनमा कम्पनीले जीवन बीमा कोष १ खर्ब २४ अर्ब रुपैयाँ भन्दा धेरै पुर्याउन सफल भएको छ ।
देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।
२१ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले प्रेरित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३०२ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरेको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उप–शाखा कार्यालयले वार्षिकोत्सवलाई भब्य बनाउन अन्य गतिविधि तथा कार्यक्रमहरु गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया