अपर सोलु हाइड्रोको साढे १३ करोडको आईपीओमा आजदेखि आवेदन खुल्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गते बिहीबारदेखि साढे १३ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

जसअनुसार कम्पनीले प्रतिसेयर १०० अंकित दरका १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आईपीओ जारी गरेको हो ।

बैशाख २२ गतेदेखि निष्काशन भएकाे उक्त सेयर छिटोमा जेठ ५ गते निष्काशन बन्द हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ २० गतेसम्म लम्बिनेछ । कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ लाख ५० हजार कित्ता बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट पनि आवेदन दिन सकिनेछ । यस्तै एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका भएर बहने सोलु खोलामा २३.५० मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरेको छ । सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले प्रर्वद्धन गरेको आयोजना २०७६ मंसिरमा सम्पन्न भएको थियो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ मा आयोजनाको विद्युत गृह छ ।

आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा ८ वटा बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी छ । कम्पनीको इक्वीटी २५ प्रतिशत छ । आयोजनाको लागत निर्माण अवधिको ब्याजसमेत गरी ४ अर्ब ५० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।