कृषिसहित ५ क्षेत्रमा बाढी/पहिरोको वितण्डा, कम्तिमा १७ अर्ब क्षतिको आँकलन

कृषिसहित ५ क्षेत्रमा बाढी/पहिरोको वितण्डा, कम्तिमा १७ अर्ब क्षतिको आँकलन


काठमाडौं – गत साताको बिहीबार रातीदेखि सुरु भएको भीषण वर्षाका कारण आएको विपत्तिले कम्तीमा १७ अर्ब रुपैयाँको क्षति भएको निष्कर्ष सरकारले निकालेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तीमा १७ अर्ब रुपैयाँको क्षति भएको विवरण सार्वजनिक गरेका हुन् ।

सरकारले प्रारम्भिक आँकलनअनुसार मानवीयबाहेक ५ क्षेत्रमा क्षति भएको छ । अहिलेसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता १५८ जना घाइते भएका छन् । यसबाहेक, खानेपानी, सिँचाइ, सडक मार्ग, ऊर्जा र कृषि क्षेत्रमा क्षति भएको आँकलन सरकारको छ । तर, सरकारले निकालेको १७ अर्ब रुपैयाँको क्षतिको विवरण प्रारम्भिक भएको बताइएको छ ।

प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार खाने पानीका संरचनामा कम्तीमा ३ अर्ब ५५ करोड रुपैयाँको क्षति भएको छ । यस्तै सडक संरचनामा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको छ भने ऊर्जा क्षेत्रमा ४ अर्ब र सिँचाइ पूर्वाधारतर्फ १ अर्ब रुपैयाँको क्षति भएको छ ।

यता कृषि क्षेत्रमा सबैभन्दा धेरै क्षति भएको छ । भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कृषि क्षेत्रमा कम्तीमा ६ अर्ब रुपैयाँको क्षति भएको सरकारको प्रारम्भिक आँकलन छ । हालसम्म ३७ वटा राजमार्ग अवरुद्ध भएकामा ९ वटाको अवरोध हटेर सञ्चालनमा आएका छन् ।

६६७ मेगावाट क्षमताका विद्युत् क्षमताको १६ वटा आयोजनामा क्षति भएको छ भने ११३९ मेगावाट जडित क्षमताका निर्माणाधीन १८ वटा आयोजनामा समेत क्षति पुगेको छ । यसबाहेक ५ वटा प्रमुख प्रसारण लाईन टावरमा समेत क्षति भएको सरकारको आँकलन छ । नेपाल दूरसञ्चार कम्पनीको ३१२ साइटमा क्षति भएको तथ्यांक संकलन भएको छ ।