बैंकिङ्ग समाचार, काठमाडौं ।
२० ओटा निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव) को नौ महीनामा कूल रू. २८ अर्ब ७० करोड बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महीनासम्म २० निर्जीवन बीमा कम्पनीले उक्त बीमाशुल्क आर्जन गरेका हुन् । सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले रू. ३ अर्ब ७१ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको हो । त्यसैगरी दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीले रू. २ अर्ब ४२ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । चैत मसान्तसम्म २० कम्पनीमध्ये सबैभन्दा कम बीमाशुल्क नेशनल इन्स्योरेन्स कम्पनीले रू. ६७ करोड ८८ लाख बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी ती कम्पनीहरुले चैत महीनामा मात्रै कुल रू. ३ अर्ब ४० करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । फागुन महीनामा मात्रै रू. ३ अर्ब ४७ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका थिए । फागुन मसान्तको तुलनामा चैत मसान्तसम्ममा बीमाशुल्क २ दशलमव १४ प्रतिशतले घटेको हो ।
त्यस्तै चैत महीनामा मात्र सबैभन्दा बढी बीमाशुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीले नै आर्जन गरेको छ । सो अवधिमा कम्पनीले रू. ६० करोड ८६ लाख बीमाशुल्क आर्जन गरेको हो । यो बीमाशुल्क फागुन महीनाको तुलनामा ८० प्रतिशत वृद्धि भएको छ । कम्पनीले फागुन मसान्तसम्ममा रू. ३३ करोड ७४ लाख बीमाशुल्क आर्जन गरेको थियो ।
त्यसैगरी दोस्रोमा नेको इन्स्योरेन्स कम्पनीले रू. २४ करोड ७ लाख बीमाशुल्क आर्जन गरेको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी फागुनको तुलनामा चैत महीनामा नेशनल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क १०२ प्रतिशत वृद्धि भएको छ ।
फागुनमा यस कम्पनीले रू. ४ करोड ९१ लाख बीमाशुल्क आर्जन गरेकोमा चैतमा बढेर रू. ९ करोड ९४ लाख पुगेको हो । २० कम्पनीमध्ये ११ कम्पनीको बीमाशुल्क फागुनको तुलनामा चैतमा बढेको छ भने बाँकी नौ कम्पनीको बीमाशुल्क घटेको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी बीमाशुल्क राष्ट्रिय बीमा कम्पनीको घटेको छ । फागुनको तुलनामा चैतमा कम्पनीको बीमाशुल्क ७५ प्रतिशत घटेको हो । कम्पनीले फागुनमा रू. ५५ करोड २५ लाख बीमाशुल्क आर्जन गरेकोमा चैतमा रू. १३ करोड ८० लाखमा झरेको हो ।
प्रतिक्रिया