बाढीले वितण्डा मच्चाउँदा देशमा संकट, अमेरिका सयरमा रमाउँदै प्रधानमन्त्री

बाढीले वितण्डा मच्चाउँदा देशमा संकट, अमेरिका सयरमा रमाउँदै प्रधानमन्त्री

सामाजिक सञ्जालबाट देश चलाउँदै प्रधानमन्त्री


काठमाडौं – भीषण वर्षाका कारण देश संकटमा पर्दा अभिभावकको भूमिकामा रहेका प्रधानमन्त्री केपीशर्मा ओली अमेरिकाको सयरमा रमाएर बसेका छन् । संयुक्त राष्ट्र संघका ७९औं महासभामा सहभागी बन्न न्यूयोर्क पुगेका ओली देशमा बाढी र पहिरोले वितण्डा मच्चाउँदा पनि अमेरिका सयरमा रमेर बसेका हुन् ।

सामान्यतया विदेश भ्रमणमा रहेका राष्ट्र प्रमुख देशमा संकट आउँदा विदेश बसाइ छोट्याउने गर्छन् । कतिपय अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेता र सामान्य नेतासमेत देशमा संकट आउँदा बसाइ छाेट्याएर स्वदेश फर्कने गर्छन् । तर, नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीले १४ गतेसम्मको अमेरिका भ्रमण छोट्याउन तयार भएनन् ।

महासभाको बैठकमा प्रधानमन्त्री ओलीले असोज ११ गते नै सम्बोधन गरेका थिए । सम्बोधन सकिनसाथ नेपालमा भीषण वर्षा सुरु भयो । उनी चाहन्थेँ भने अमेरिका भ्रमणको आफ्नो मूख्य लक्ष्य पुरा भइसकेपछि नेपाल फर्कन सक्थे ।

तर, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाटै देश चलाउने निधो गरेर धमाधम सामाजिक सञ्जालमा पोस्ट्याउन थाले । विगतका उदाहरण हेर्दा देशमा संकट आउनसाथ आपतकालिन मन्त्रीपरिषद्को बैठक बस्ने प्रचलन थियो ।

तर, यसपटकको संकटमा नेपालको मन्त्रीपरिषद् नै बसेन । किनकी, प्रधानमन्त्री र परराष्ट्रमन्त्री अमेरिकामा घुमिरहेका थिए । उपप्रधान तथा अर्थमन्त्री चीन भ्रमणमा थिए भने श्रम मन्त्री जापान भ्रमणमा थिए । संकटमा झण्डै आधा मन्त्रीपरिषद् विदेश सयरमा हुँदा मन्त्रीपरिषद् बस्ने कुरै भएन ।

प्रधानमन्त्री ओलीले ११ गतेको सम्बोधन सकेर आज १३ गते भइसक्दा पनि देश फर्किने सुरसार गरेका छैनन् । उनी असोज १४ गतेसम्मको आफ्नो पूर्व निर्धारित कार्यक्रम सकेर मात्रै नेपाल फर्किने भएका छन् । यद्यपि, आफ्नो फेसबुकबाट देशप्रतिको आफ्नो देखावटी माया देखाउन भने छाडेका छैनन् ।