बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलको कार्यलय टंगालमा शेयर बाँडफाँट भएको हो ।
कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।
लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाकाे आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ ।
लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।
त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया