नाडेप लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै नाफा करिब ५०% घट्यो

नाडेप लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै नाफा करिब ५०% घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा ४९ दशमलव ९८ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ११ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ६९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.१४ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी १७.०२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ५१.२० प्रतिशत घटेको छ ।

गत वर्षको तुलनामा यस वर्ष सम्भावित जोखिम शिर्षकमा ५४ दशमलव ९८ प्रतिशत बढी रकम छुट्याएकाले पनि यस वर्ष कम्पनीको सञ्चालन नाफा ५१ दशमलव २० प्रतिशत घटेको छ । कम्पनीले यस वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ६ करोड ६९ लाखभन्दा बढी रकम छुट्याएको हो । गत वर्ष यो रकम रू. ४ करोड ३२ लाखभन्दा बढी थियो ।

२० प्रतिशत बोनस शेयर मार्फत यस वर्ष चुक्तापूँजी बढाएर रू. ४८ करोड ५७ लाख ६० हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि ३ दशमलव ४० प्रतिशत बढेर रू. ३३ करोड ७९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा २ दशमलव ५२ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ७४ लाख कर्जा सापटी लिएको छ । गत वर्षभन्दा १३ दशमलव ८६ प्रतिशत बढी रू. १ अर्ब ७१ करोड ८७ लाख निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६५ प्रतिशत बढी रू. ४ अर्ब ८७ करोड ११ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ५ दशमलव ७४ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष ४ दशमलव ९२ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६९ दशमलव ५७ रहेको छ । यस वर्ष कम्पनीले धनुषा, महोत्तरी, सिराह, रौतहट, बारा, सर्लाही र चितवन जिल्लामा १० थप शाखा विस्तार गरेको छ । हाल कम्पनीले देशका विभिन्न स्थानमा ८८ शाख कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।