बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय रेमिट्यान्स भित्रिने क्रममा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको आठ महिना सम्म ६ खर्ब ३१ अर्ब १९ करोड रुपैँया रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो बर्षको सोही अवधीको तुलनामा भने १.७० प्रतिशतले कमी हो । अघिल्लो महिनासम्ममा रेमिट्यान्स आयात ४.९० प्रतिशतले घटेर ५ खर्ब ४० अर्ब १२ करोड रुपैँया भित्रिएको थियो ।
चालु आर्थिक बर्षको पहिलो महिना देखि नै लगातार रेमिट्यान्स घट्ने क्रम देखिएको थियो । आठ महिना सम्म आईपुग्दा भने रेमिट्यान्स बढ्ने संकेत देखिएको थियो । यही अवस्थामा रेमिट्यान्स भित्रने क्रम रहने हो भने आगामी महिनामा रेमिट्यान्स थप बढ्ने देखिएको छ ।
राष्ट्र बैंकका अनुसार समिक्षा अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्विकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा बृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ ।
अर्थतन्त्रको खम्बा मानिने रेमिट्यान्समा कमी आउँदा मुलुकको भुक्तानी सन्तुलन नै प्रभावित हुने गरेको छ । रेमिट्यान्सले आयात धान्न नसक्ने अवस्थाको असर पछिल्लो समय अर्थतन्त्रसम्म प्रत्यक्ष देखिन थालिसकेको छ ।
रेमिट्यान्स आप्रवाहक वृद्धि हुदाँ गर्व गर्ने, र ह्रास पुग्दा चिन्ता मात्रै गर्ने भन्दा पनि वैदेशिक रोजगारी र रेमिट्यान्सको विकल्प खोज्न सबैले ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
प्रतिक्रिया