बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । चैत २२ गते मंगलबार जारी हुने उक्त ट्रेजरी बिलको बोलकबोल केन्द्रीय बैंकले आज चैत २१ गते सोमबार गर्ने भएको हो ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । यस ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले जारी गर्न लागेको ट्रेजरी बिलमध्ये २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनको अवधिका लागि ११ अर्ब रुपैयाँको ट्रेजरी बिल रहेको छ ।
राष्ट्र बैंकले जारी गर्न लागेको २८ दिन ट्रेजरी बिल २०७९ वैशाख २० गते, ९१ दिने २०७९ असार २१ गते, १८२ दिने २०७९ असोज १८ गते र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल २०७९ चैत २१ गते परिपक्व हुनेछ ।
बोलकबोलमा सहभागि हुने बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकमध्ये सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया