बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी रू. ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको प्रतिशेयर १०० अंकित दरका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने निष्कासन गर्ने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
यो आईपीओ खरीदका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ वैशाख ९ गतेसम्म आईपीओ विक्रीको मिति कम्पनीले तय गरेको छ । तर यस अघिको आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा चैत २९ गतेसम्म मात्र यो आईपीओ विक्रीमा रहने देखिन्छ ।
आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया