नयाँ बानेश्वरमा जीवनदाता बहुउद्देश्य सहकारी सञ्चालन

नयाँ बानेश्वरमा जीवनदाता बहुउद्देश्य सहकारी सञ्चालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
काठमाडौंको नयाँ बानेश्वरमा एक नयाँ सहकारी स्थापना भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर कार्यक्षेत्र बनाई शुक्रबारदेखि जीवनदाता बहुउद्देश्य सहकारी संस्था स्थापना भएको हो ।  

उक्त सहकारीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । उद्धघाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आर्थिक विकासका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । तीन खम्बे  अर्थनीति मध्येको एक खम्बा सहकारी क्षेत्र रहेकोले  यसलाई पारदर्शी तरिकाले वित्तीय सेवा प्रदान गर्ने गरी अर्थतन्त्रलाई टेवा पुर्याउनु पर्ने अर्थमन्त्रीले बताएका थिए । साथै उनले सहकारीबाट सङ्कलित रकमलाई व्यावसायिक उत्पादनमा लगानी गर्न सञ्चालकहरूलाई सुझाव दिएका थिए ।

कार्यक्रममा ‘वित्तीय समृद्धिको चाहना जीवनदाताको कामना’ भन्ने मूल उद्देश्यले नयाँ वित्तीय संस्था सञ्चालन गरेको संस्थाका सचिव कुमार सिग्देलले जानकारी दिए । कार्यक्रममा काठमाडौं जिल्ला सहकारी सङ्घका अध्यक्ष ज्ञान बहादुर तामाङको समेत सहभागी भएका थिए । २ करोड रुपैयाँ चुक्ता पुँजीबाट सञ्चालन अनुमति पाएको यस संस्थाले सुरुवातमै ५ करोड पुँजी पुर्‍याइसकेको बताएको छ ।