पूँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्नेछु: सेबोन अध्यक्ष हमाल

पूँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्नेछु: सेबोन अध्यक्ष हमाल

सुरेश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आफू सेबोन र पूँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताएका छन् ।

शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण पश्चात नवनियुक्त अध्यक्ष हमालले त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न समेत आग्रह गरे ।

मन्त्रालयमा शपथ ग्रहण गराउँदै अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमाललाई आग्रह गरेका छन् ।

मन्त्री शर्माले भने, ‘पूँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू छन्, तपाईँ यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’ उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टसको सेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो ।

हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त हमालले यसअघि नेपाल विद्युत प्राविधिकरणमा ९ वर्ष कार्य गरेका थिए । त्यस्तै उनले विभिन्न संस्था तथा कम्पनीहरूमा नेतृत्वको अनुभव लिइसकेका छन् ।