यस्ताे छ ११ महिनामा पुँजी बजारको कारोबार

यस्ताे छ ११ महिनामा पुँजी बजारको कारोबार


काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा पुँजी बजारमा ६ खर्ब २८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ खर्ब २८ अर्ब ४३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्ममा नेप्सेमा रहेका १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक शेयर र अग्राधिकार शेयर गरी १ अर्ब ७८ करोड ७० हजार कित्ता शेयर किनबेच भएको हो । उक्त कारोबार गत आर्थिक वर्षको सोही तुलनाको अवधि भन्दा ६५.५१ प्रतिशतले बढी कारोबार हो । गत आर्थिक वर्षको ११ महिनामा १ अर्ब ७ करोड ३८ लाख ४९ हजार कित्ता बराबरको ३ खर्ब ८६ अर्ब ६९ करोड ७९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको थियो।

१३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद बिक्री भएको छ। नेप्सेमा ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । कुल शेयर खरिदबिक्री रकममध्ये हाइड्रोपावर समूहको हिस्सा मात्रै २८.५ प्रतिशत देखिएको छ। हाइड्रोपावर समूहको ६२ करोड ११ लाख २० हजार कित्ता बराबरको १ खर्ब ७८ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।

यस्तै, कारोबार रकममा दोस्रो ठूलो हिस्सा वाणिज्य बैंकहरूले ९.६ प्रतिशत ओगटेका छन्। यस अवधिमा वाणिज्य बैंक समूहको २२ करोड ३४ लाख ८५ हजार कित्ता बराबरको ६० अर्ब ११ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यसैगरी कारोबार धेरै हुने तेस्रो नम्बर सूचीमा माइक्रोफाइनान्स समूहको ९ प्रतिशत हिस्सा रहेको छ। माइक्रोफाइनान्स समूहको ५६ अर्ब २४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। गत आर्थिक वर्षको ११ महिनामा १ अर्ब ७ करोड ३८ लाख ४९ हजार कित्ता बराबरको ३ खर्ब ८६ अर्ब ६९ करोड ७९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको थियो।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्माण र प्रशोधन समूहको ८.४ प्रतिशत हिस्सा, जीवन बीमा समूहको ८.४ प्रतिशत हिस्सा, फाइनान्स समूहको ७.३ प्रतिशत हिस्सा, निर्जीवन बीमा समूहको ५.५ प्रतिशत हिस्सा र विकास बैंक समूहको ५.४ प्रतिशत हिस्सा शेयर कारोबार भएको छ ।