भारतीय बजेट २०२२/२३ः नेपाललाई दिने अनुदान रकम घट्यो

भारतीय बजेट २०२२/२३ः नेपाललाई दिने अनुदान रकम घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
भारतीय वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम भारु ७ अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) मा सीमित गरिएको हो ।

गत वर्ष सन् २०२१/२२ को बजेट मार्फत भारतले नेपाललाई ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) सहयोग छुट्याएको थियो । यद्यपि, पछि नेपाललाई छुट्याएको सहयोग रकम भारु ६ अर्ब ५० करोड (रु. १० अर्ब ४० करोड) रहेको संसोधित अनुमान छ ।  

भारतले दक्षिण एशियामा बाङ्लादेश र माल्दिभ्सलाई दिने सहायता रकम भने बढाएको छ । गत वर्ष बाङ्लादेशलाई २ अर्ब भारु छुट्याइएकोमा यो वर्ष त्यसलाई बढाएर ३ अर्ब भारु पुर्‍याइएको छ । त्यसै गरी माल्दिभ्सलाई दिने सहयोग २ अर्ब ५० करोड भारुबाट बढाएर ३ अर्ब ६० करोड भारु बनाइएको छ । तर, अफगानिस्तानलाई दिने सहयोग रकम घटाइएको छ । गत वर्ष ३ अर्ब ५० करोड सहयोग पाएको अफगानिस्तानले यस वर्ष २ अर्बको सहायता पाउने छ ।

\"\"

भारतले छिमेकीहरूमध्ये सबैभन्दा धेरै सहयोग भुटानलाई गर्नेछ । भुटानलाई सन् २०२२/२३ मा २२ अर्ब ६६ करोड भारु सहयोग प्रस्ताव गरिएको छ । यो गत आर्थिक वर्षको तुलनामा भने थोरै हो । गत वर्ष भुटानलाई ३० अर्ब भारु सहयोग छुट्याइएको थियो । भुटानपछि बढी अनुदान पाउने दोस्रो मुलुक भने मौरिसस भएको छ । यसले आगामी वर्ष ९ अर्ब भारु अनुदान पाउँदै छ । म्यानमारलाई पनि भारतले ६ अर्ब भारु अनुदान दिँदै छ ।

दक्षिण एशियामा भने भारतले भुटानपछि सबैभन्दा धेरै सहयोग छुट्याएको मुलुक नेपाल रहेको छ ।