इमर्जिङ्ग नेपालको आईपीओ निष्काशन माघ २६ गतेदेखि

इमर्जिङ्ग नेपालको आईपीओ निष्काशन माघ २६ गतेदेखि


बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउने भएको हो । यो  आईपीओ फागुन १ गतेसम्म विक्रीमा रहनेछ ।  

उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने फागुन ११ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यो आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४० हजार रहेको छ ।

आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापक तर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ११ रहेको छ । यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ ।