असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने, नगरे खाता रोक्का हुने

असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने, नगरे खाता रोक्का हुने


काठमाडौं – असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे रोक्का हुने भएको छ । निक्षेप सदस्यहरू (डीपी) ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रत्येक वर्षको अन्त्यसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था अनुसार निक्षेप सदस्यहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण गर्नुपर्ने भएको हो। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुको डिम्याट खाता नवीकरण हुन्छ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्दछ।

कतिपय निक्षेप सदस्यले निश्चित रकम पहिले नै भुक्तानी गरेपछि आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने प्याकेज पनि उपलब्ध गराएका छन् । यस्तो प्याकेज लिएकाहरूले डिम्याट खाता नवीकरण गरिरहनु पर्दैन ।

अनलाइनबाटै कसरी नवीकरण गर्ने त ?
सबैभन्दा पहिले मेरो सेयर खोल्नुपर्ने हुन्छ। त्यसपछि माथि दायाँ आफ्नो नाममा क्लिक गर्नुस्। ‘रिन्यू एकाउन्ट’मा जानुस्। त्यसपछि इसेवा, खल्ती वा एनसिएचएलको कनेक्ट आइपिएसमध्ये भुक्तानी गर्ने माध्यम छनौट गरी त्यसमै क्लिक गर्नुस्। त्यसपछि मेरो सेयर र डिम्याट वा मेरो सेयर वा डिम्याटमध्ये नवीकरण गर्न चाहेको क्लिक गर्नुस् र ‘प्रोसिड’मा जानुस्। अब पैसा तिर्ने माध्यम इसेवा, खल्ती वा कनेक्ट आइपिएस खुल्छ। आफू ती माध्यममा आवद्ध नभएको अवस्थामा अन्य व्यक्तिकाेबाट पनि भुक्तानी गर्न सकिन्छ। त्यसपछि जसको जुन माध्यमबाट भुक्तानी हुने हो, त्यसमा आइडि र यूजरनेम र पासवर्ड राखेर ‘लगिन’ गरी अन्य शुल्क भुक्तानी गरेजस्तै नै रकम भुक्तानी गर्न सकिन्छ।