काठमाडौं – यो साता शेयर बजारमा लागि त्यति खास रहन नसकेको लगानीकर्ताको गुनासो छ। पुँजीबजार नियामक संस्था धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्यौलमा परेकाले लामो समयसम्म रिक्त बोर्डको अध्यक्ष पाउने आशा बोकेका लगानीकर्ता निराश त बनेका नै छन् भने राजनीतिक भागभण्डामा बोर्ड अध्यक्ष चयन नहुने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारमा उत्साह नदेखिएको बुझ्न सकिन्छ ।
यो साता विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने शेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गर्यो। जसमा व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत शेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको थियो । सो समितीले एक वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिएको छ । जुन कर हालको भन्दा साढे २ प्रतिशत बिन्दु बढी हो । शेयर बजारका विज्ञहरुले शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर हुँदै गइरहेको बताउँदै लगानीकर्ताको लागि पर्ख र हेरको अवस्थामा बजार रहेको बताउँदै आएका छन् ।
पहिलो कारोबारको दिन नै दोहोरो अंकले घटेको बजार
साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अकंले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०४ अकंले घटेर २०९५.२५ बिन्दुमा बन्द भएको थियो। त्यसदिन ३१७ कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको थियो । आइतबार १२ उपसूचक राताम्य भएका थिए । आइतबार बैंकिङ्ग समूहको ०.८५ प्रतिशत, विकास बैंक समूहको १.२० प्रतिशत, फाइनान्स समूहको ०।७४ प्रतिशत, हाइड्रोपावर समूहको ०.२३ प्रतिशत र जीवन बीमा कम्पनीको ०.३६ प्रतिशतले शेयर मूल्य ओरालो लागेको थियो ।
मंगलबार पनि घटेको शेयर बजार
साताको पहिलो कारोबारको दिन आइतबार दोहारो अंकले घटेको शेयर बजार साताको तेस्रो कारोबारको दिन मंगलबार पनि दोहोरो अकंले नै घटेको थियो । साताको दोस्रो कारोबारको दिन सोमबार भने बक्र इर्दको अवसरमा सार्वजनिक बिदा रहेकाले शेयर बजार बन्द रहेको थियो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको थियो। त्यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको थियो । मंगलबार १३ वटै उपसूचक राताम्य भएका थिए । त्यसदिन बैंकिङ्ग समूहको १.१६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७२ प्रतिशतले शेयर मूल्य घटेको थियो ।
बुधबार झिनो अंकले बढेको शेयर बजार
साता शेयर कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको थियो। दुई दिनसम्म लगातार दोहारो अंकले घटेको शेयर बजारमा बुधबार झिनो अंकले सुधार देखिएको थियो । त्यसदिन नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को विन्दुमा कायम भएको थियो । बुधबार नेप्सेमा कारोबार भएका ३०८ वटा कम्पनीको ७२ लाख ९ हजार कित्ता शेयर खरिदबिक्री भई तीन अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो। शेयर बजार बढेसँगै अधिकांश उपसूचकहरुमा हरियाली छाए तापनि केही उपसूचकहरु राताम्मे बनेका थिए । बुधबार बैंकिङ्ग, माइक्रोफाइनान्स, ननलाइफ लगायतका उपसूचकहरुमा हरियाली छाएको थियो ।
अन्तिम कारोबारको दिन पुन : घटेको शेयर बजार
साताको चौथो कारोबारको दिन बुधबार थोरै सुधारोन्मुख रहेको शेयर बजार बिहीबार पुनः राताम्य देखियो । त्यसदिन नेप्से १०.४४ अकंले घटेर २०६८.३१ बिन्दुमा बन्द भएको थियो । बिहिबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको थियो। बजार राताम्य हुँदा समेत फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका थिए । त्यसदिन फाइनान्स समूहको १.८३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१३ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको थियो।
यो साताभित्र चार दिन शेयर कारोबार भएको बजारले लगानीकर्ताको मनोबल बढाउन सकेन । नियामक निकायको बलियो उपस्थिति हुन नसक्दा शेयर बजारले गति लिन नसकेको हो । यो साता २१ सय १२ दशमलव २९ को बिन्दुबाट सुरु भएको बजार २० हजार ६८ दशमलव ३१ को बिन्दुमा झरेको छ। समग्रमा यो साताको शेयर बजारमा ४३ दशमलव ९८ अंकको गिरावट आएको छ। अघिल्लो साता भने शेयर बजार ३३.१ अंकले बढेको थियो ।






About Us
प्रतिक्रिया