काठमाडौं – नेपाल धितोपत्र बोर्डका नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रानाले लामो समयसम्म बोर्ड नेतृत्वविहीनको अवस्थामा रहेकाले महत्वपूर्ण निर्णय हुन नसकेको समेत बताएका हुन्। ‘बोर्डको संस्थागत सुशासन र क्षमता अभिवृद्धिका कुरा उठेका छन्। ऐनले व्यवस्था गरेअनुसार अहिले अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा मैले अध्यक्षको हैसियतमा काम गरिरहेको छु। सरकारले चाँडोभन्दा चाँडो धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरोस्’, उनले भने। धितोपत्र बजारलाई चलायमान बनाउने विषयमा आवश्यक ऐन, नीति, नियम, निर्देशिका, कार्यविधिमा संशोधन गर्न सकिने उनको भनाइ थियो।
विभिन्न नियमनकारी निकायको निगरानीबाट बोर्ड डराउन नहुने र यसले सच्चिएर जानका लागि दिशानिर्देश गर्ने उनको भनाइ छ। सरकारले बोर्डको अध्यक्ष चाँडो नियुक्त गरेर धितोपत्र बजारलाई थप चलायमान बनाउनुपर्ने उनको सुझाव थियो। ‘धितोपत्र बजारमा स–सानो कुराले पनि लगानीकर्तालाई प्रभावित गरिरहेको हुन्छ। बोर्डमा पछिल्लो पाँच महिनादेखि अध्यक्ष नहुँदा भ्याकुम सिर्जना भएको छ’, उनले भने। चार वर्षे कार्यकालका लागि आउने अध्यक्ष आफ्नो योजना तथा कार्यक्रमअनुसार काम गर्ने भएकाले चाँडो अध्यक्ष नियुक्त हुनुपर्ने उनको तर्क थियो। संस्थाको भवन निर्माणका लागि पनि आफू लागिरहेको अध्यक्ष रानाले बताए।
जग्गा किन्नका लागि उपत्यका विकास प्राधिकरणलाई तीन वर्षअघि नै रकम भुक्तानी भइसकेको भएपनि जग्गा स्वामित्वमा आउन नसकेको उनले जानकारी दिए। त्यस अवसरमा राजस्व सचिव डा रामप्रसाद घिमिरेले धितोपत्र बजारको कानुनी सुधारका लागि प्रयास भइरहेको बताए। ‘सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनलाई पनि सम्बोधन गर्नेगरी धितोपत्रसँग सम्बन्धित कानुन संशोधनको तयारी भइरहेको छ। धितोपत्र बजारको आकार निकै ठूलो भइसकेकाले जोखिममा आधारित नियमन र सुपरीवेक्षण विधि अवलम्बन गर्दै जानुपर्छ’, घिमिरेले भने। बोर्डको जग्गा खरिद र भवन निर्माणका लागि सहजीकरण गर्ने प्रतिवद्धता उनले जनाए । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले धितोपत्र बजार सुधार तथा बोर्डको संस्थागत सुदृढीकरणलाई आत्मसाथ गरेको राजस्व सचिव घिमिरेको भनाइ थियो।
प्रतिक्रिया