महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा सूचीकृत तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (पुस १२ गते) अन्तिम दिन रहेको छ।

साधारण सभा प्रयोजनार्थ महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सले भोली अर्थात पुस १३ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मी विकास बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस शेयर र लाभांशमा लाग्ने कर सहित १.०५ प्रतिशत अर्थात तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो प्रस्ताव पारित गर्न बैंकले पुस २५ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा बीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावका साथै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस २५ गते, आइतबार केन्द्रिय कार्यालय, नक्सालमा तेइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिनको १ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अधिकृत पूँजी २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब पुर्याउने, लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

नेपाल हाइड्रो डेभलपरले लाभांश पारित गर्न १५ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस २८ गते दिउसो ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालयबाट र्भच्युअल माध्यमबाट साधारण सभा बोलाएको हो।

कम्पनीले सााधारणबाट गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ। यस्तै, कम्पनीले जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्नको लागि प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।