काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। अर्थमन्त्री पुनले सर्वेक्षण प्रस्तुत गर्दै मुलुकको आर्थिक तथा सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए।
सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको विश्लेषण गरिएको छ। अर्थमन्त्री पुनले भने,‘उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान छ।’
सर्वेक्षणमा प्रदेशगत रुपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औषत भन्दामाथि रहने अनुमान गरिएको उनले जानकारी दिए। साथै चालु आवलगायत कूल लगानी २.८ प्रतिशतले बढेर रु.१७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर पुग्ने अनुमान सर्वेक्षणले गरेको छ ।राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते मङ्गलबार ४ बजेर १५ मिनेटमा बस्नेछ ।



About Us
प्रतिक्रिया