तनहुँमा बाह्र वटा साना योजना सम्पन्न


तनहुँ -सामाजिक विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गरेका ४७ योजनामध्ये १२ योजना सम्पन्न भएका छन् ।कूल योजनामध्ये ३२ वटा योजना सम्झौता भएका थिए । सम्पन्न भएका योजनाको भुक्तानी भइसकेको छ। बाँकी १५ वटा योजना सम्झौता हुन बाँकी रहेको सामाजिक विकास कार्यालय प्रमुख विक्रम सुवेदीले जानकारी दिए। उनका अनुसार वार्षिक योजनाअन्तर्गत १४ र राष्ट्रिय खेलकूद परिषदका एक गरी १५ योजना सम्झौता हुन बाँकी छन्।

सम्पन्न भएका योजनाअन्तर्गत विद्यालय, मन्दिर, सामुदायिक भवन, धार्मिक, सांस्कृतिक र खेलकूद क्षेत्रका पूर्वाधार मर्मत तथा निर्माण गरिएको छ । त्यसैगरी विपद्जन्य घटनाका कारण विद्यालयमा पुगेको क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन शैक्षिक कार्यक्रमअन्तर्गत सात वटा योजना सम्झौता भई निर्माण प्रक्रियामा छ ।

त्यसैगरी राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत दुई योजनामध्ये एउटा सम्झौता भई काम सुरु भएको र एउटा सम्झौता हुन बाँकी रहेको उहाँले बताउनुभयो । कार्यालयको पूँजीगततर्फ रु. पाँच करोड ७५ लाख बजेट रहेको छ। व्यास–१ निर्मल माध्यमिक विद्यालयको भवन तथा प्रयोगशाला निर्माणका लागि रु तीन करोड बजेट विनियोजन भई निर्माण भइरहेको छ।

कूल बजेटको करिब ५२ प्रतिशत बजेट उक्त विद्यालयको संरचना निर्माणमा खर्च भएको उनले बताए। चालु आवमा काम सम्पन्न गर्न अधिकारी कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । हालसम्म उक्त भवनको ५० प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीका प्रोपाइटर पङ्कज अधिकारीले जानकारी दिए। चालुतर्फ जिल्लामा रु ७५ लाख बजेट विनियोजन भएको सो कार्यालयले जनाएको छ। – रासस