सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च


कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् रु. १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रु. पाँच अर्ब तीन करोड ४४ लाख र पूँजीगततर्फ रु. पाँच अर्ब ६१ करोड १८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रु. चार अर्ब ९२ करोड ३१ लाख बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले रु. दुई अर्ब ४७ करोड नौ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु. ७८ करोड ७१ लाख र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु. ७१ करोड १८ लाख खर्च गरेको उनले जानकारी दिए ।

सूचना अधिकारी पाण्डेयका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु. १४ करोड ६२ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु. १४ करोड नौ लाख र आर्थिक मामिला मन्त्रालयले रु. छ करोड ६६ लाख खर्च गरेको छ ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले रु. १० करोड १६ लाख, प्रदेश लोक सेवा आयोगले रु. चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले रु. एक करोड ७३ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयलका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु .२९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ रु. ११ अर्ब ९६ करोड १६ लाख, पूँजीगततर्फ रु. १७ अर्ब दुई करोड २३ लाख र वित्तीय व्यवस्थापनतर्फ रु. ३० करोड बजेट विनियोजन गरेको थियो ।