काठमाडौं– पछिल्लो केही दिन यता बैंक तोडफोडदेखि सुरक्षा गार्डको हत्या भएको घटनाहरूले बैंक,वित्तीय क्षेत्रलाई त्रसित बनाइरहकाे छ । यी घटनाले बैंक, वित्तीय क्षेत्रको सुरक्षा माथि प्रश्न चिन्ह्र समेत खडा गरिरहेको छ।
यसैबीच, गएराति पोखरामा रहेको एभेरेष्ट बैंकको शाखा तोडफोड भएको घटना बाहिरिएको छ। कास्की प्रहरीका अनुसार राती अपरिचित व्यक्तिहरूले बैंकको सिसा फुटाएका हुन्।
बैदाम प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठकाअनुसार बैंकको सिसा तोडफोड भएको विषयमा अनुसन्धान भइरहेको छ। प्रहरी प्रमुख श्रेष्ठले भने,‘ बैंक तोडफोडको घटनामा गम्भीरताका साथ लागेर अनुसन्धान गरिरहेका छौँ। संलग्नलाई छिट्टै पक्राउ गर्नेछौँ ।’ बैंककाे सिसा तोडफोड भए पनि पैसा भने चाेरी भएकाे छैन।
दुई दिनअघि मात्रै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट युवाहरूले दुई बैंकमा तोडफोड गरेका थिए। बिहीबार प्रसाईँको समर्थकले एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालय तोडफोड गरेका थिए।
मंगलबार प्रसाईंको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा र्याली आयोजना गरिएको थियो। र्यालीमा सहभागी १२/१५ जनाको समूहले दुई बैंकका कार्यालय तोडफोड गरेका थिए । तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल बैंकको सुरक्षा गार्ड हत्या आरोपमा एक जना पक्राउ
सप्तरीमा नेपाल बैंक लिमिटेडको सुरक्षा गार्ड हत्या आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्र सुवेदी रहेको प्रहरीले जनाएको छ । प्रहरीको टोलीले सुवेदीलाई मकवानपुरबाट पक्राउ गरेको हो।
बिहीबार बिहान लुटपाटको प्रयासमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड परशुराम फुयाँलको हत्या गरिएको थियो।
प्रतिक्रिया