स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४० लाख नाघ्यो

स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४० लाख नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले करको दायरा वृद्धि गर्दै लगेसँगै करदाताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या ४० लाख नाघेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४० लाख ४९ हजार १०९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७२६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३८३ छन् । आव २०७७/७८ मा दुई लाख ४५ हजार ५६१ व्यावसायिक करदाता र पाँच लाख १७ हजार ३८३ व्यक्तिगत करदाता थपिएका छन् ।

कोरोना महामारीको प्रतिकूलताका बीच पनि राजस्व असुलीमा ९५ दशमलव ३२ प्रतिशत प्रगति भएको विभागले जानकारी दिएको छ । आव २०७७÷७८ मा चार खर्ब २९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६/७७ को तुलनामा ११ दशमलव ६४ प्रतिशतले बढी हो । आव २०७७÷७८ मा चार खर्ब ५० अर्ब ३४ करोड राजस्व संकलनको लक्ष्य राखिएको थियो ।

आव २०७७/७८ मा मूल्य अभिवृद्धि करतर्फ तीन खर्ब दुई अर्ब १६ करोड लक्ष्य निर्धारण गरिएकामा दुई खर्ब ८७ अर्ब ६ करोड असुली भएको छ । यस्तै सोही अवधिमा  दुई खर्ब ७७ करोड आयकर र एक खर्ब ३४ अर्ब ९ करोड अन्तःशुल्क संकलन भएको छ ।

आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयको कुल बेरुजु ४९ अर्ब ६१ करोड ४९ लाख १५ हजार रहेकोमा गत आवमा २८ अर्ब ८६ करोड २६ लाख ९६ हजार फछ्र्याेट भएको विभागले जानकारी दिएको छ । गत आवमा मूल्य अभिवृद्धि करतर्फ ३७ हजार ८६८ करदाता दर्ता भएको र हालसम्म दुई लाख ६८ हजार ४३६ करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएको विभागले जानकारी दिएको छ ।