सहकारी पीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग

सहकारी पीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्न माग


काठमाडौं– नेपाली कांग्रसकी सांसद प्रतिमा गौतमले सहकारी पीडितलाई न्याय दिनेगरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छिन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले उप्रधानमन्त्री तथा गृहमन्त्री रवी छामिछानेमाथि सहकारीका रकम अनियमिततासम्बन्धी लागेको आरोपबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन् । सत्तापक्ष, प्रतिपक्षलगायत सबै दलको प्रतिनिधित्व हुनेगरी छानबिन समिति बनाउनुपर्ने उनको भनाइ थियो ।

‘आजभोलि सहकारी पीडितहरु यत्रतत्र भेटिन थालेका छन् । आज विहान मात्रै गौशालाकी डङ्गोल थर भएकी महिला मेरो घरमा आएर आफू सहकारीबाट पीडित भएको बताउनुभयो । फुटपाथमा व्यवसाय गर्ने उहाँले सहकारीमा जम्मा गरेको रकम डुबेछ’, उनले भनिन्, ‘ती दिदीले रुँदै सहकारीकै कारण बर्बाद भएको बताउनुभयो । उहाँ प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।’

सांसद गौतमले सहकारीको समस्या एउटा व्यक्तिको मात्रै नभएर करिब ७४ लाख सदस्यको भएको बताउँदै उनले त्यसमध्ये करिब ६० प्रतिशत महिला र त्यसमा पनि मध्यम र निम्न मध्यमवर्गीय परिवार रहेको बताए । उनले लाखौ व्यक्तिले दुःख गरेर सहकारीमा राखेको बचत जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले सडकदेखि सदनसम्म, सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म सहकारीको रकम ठगीका विषय चर्चामा रहे पनि सरकारले सहकारी पीडितको पीडा देख्न नसकेको उल्लेख गरे । सरकारले सहकारी ठगीसम्बन्धी विषयलाई हल्कारुपमा लिन नहुने भन्दै पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए । उनले सहकारी पीडितका विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपमा प्रभावित भएको र राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धताप्रति विश्वासको सङ्कट सिर्जना भएको उनको भनाइ छ ।

उनले सहकारी पीडितको समस्या समाधान गर्न संसदीय छानबिन समिति बनाएर अगाडि बढ्न बारम्बार संसद्समक्ष राख्दै आए पनि प्रमाण छैन भन्दै टार्दै आएको बताए । जनताको बचत फिर्ता हुने गरी छानबिन समिति बनाउनुपर्ने उनको माग छ ।