सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिवन्ध लगाउनुपर्नेमा सांसदहरुको जोड


काठमाडौं– सांसदहरुले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिवन्ध लगाउनुपर्ने माग गरेका छन् । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुले यस्तो माग गरेका हुन् । उनीहरुले सुर्तीजन्य उद्योगहरुको उत्पादनको लागिमात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताए ।

उनीहरुले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको बताए । उनीहरुले स्वास्थ्यमा जनतालाई असर गर्नेकुरामा राजश्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने बताउँदै पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने भनाइ राखे ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद कान्तिका सेजुवालले सुर्तीजन्य गुट्काहरुको उद्योग सञ्चालनको लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालनमा आएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले सुर्तीजन्य उद्योगहरुको क्षमता अभिवृद्धि गर्ने नभइ रोक्ने दिशामा अघि बढ्न आवश्यक रहेको बताइन् ।

नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौड्यालले स्वास्थ्यमा जनतालाई प्रभाव पार्ने कुराले राजश्वका लागि सुर्तीजन्य पदार्थहरुको उत्पादनमा अभिवृद्धि गर्नेकुरा राम्रो नहुने बताइन् । उनले राज्यले जनतालाई असर पर्ने कुरामा पैसा मात्रै कमाउने उद्देश्यबाट प्रेरित हुन नहुने तर्क राख्दै यस विषयमा राज्य व्यवस्था समिति र उद्योग समितिमा संयुक्त छलफल गरेर अघि बढ्न आवश्यक रहेको औँल्याइन् । साथै उनले पुँजी अभिवृद्धिको स्वीकृति दिइसकेपछि छलफल गर्नुको ओचित्य नरहेको बताइन् ।

नेकपा एमालेका सांसद लालप्रसाद सावा लिम्बूले सोही विषयमा बोल्दै अनुमति दिनुपूर्व नै छलफल हुनुपर्ने कुराको जवाफ सरकारले दिनुपर्ने बताए । उनले क्षमता अभिवृद्धि किन गरिएको हो ? भन्ने प्रश्न उठेको बताउँदै स्वास्थ्य सम्बन्धीको असरलाई हेरेर छलफल गहन रुपले हुनुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले सरकारले युवाहरुलाई श्रम दिने कुरामा ध्यान दिने हो भने त्यस्ता उद्योगहरुलाई सञ्चालनमा ल्याउनुपर्ने भनाइ राखिन् । उनले गुट्का, खैनी बाहेकका रुग्ण उद्योगमा थप लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने बताउँदै नेपालमा खैनी तथा सूर्तीजन्य सामग्री बेच्न नदिने भए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाहिर पठाउने योजना र कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिइन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि समितिमा छलफल गर्नुको ओचित्यमाथि प्रश्न उठेको बताउँदै सरकारको कानुन मानेर खोलिएका उद्योगहरु सरकारले सञ्चालन गर्न दिनुपर्नेमा जोड दिए । उनले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण र बिक्री वितरणका लागि तोकिएको नियमनका प्रक्रियाको कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले गुट्का, खैनी र सुर्तीजन्य उद्योगहरु कति छन् ? भन्नेबारेमा सरकारसँग यकिन तथ्यांक नरहेको बताउँदै भएका उद्योगहरु कसरी चलिरहेका छन् ? उनीहरुले उत्पादन गरेका वस्तुहरुको गुणस्तरीयताको मापन कसरी भइरहेको छ ? भन्नै प्रश्न गरे । उनले आवश्यकताको आधारमा उद्योग बन्द गर्नुपर्ने बताउँदै उद्योग बन्द गर्दा त्यसले पार्ने असरमा पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । (न्युज एजेन्सी नेपाल)