भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन्ः कानूनमन्त्री गुरुङ

भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन्ः कानूनमन्त्री गुरुङ


काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न जो कोहीले पनि उन्मुक्ति पाउन नसक्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पती शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले कसुरजन्य सम्पती कमाएको हकमा अथवा अपराध गरेर सम्पती कमाएको छ भने प्रधानमन्त्री, मन्त्रीलाई पनि सरकार नछोडने बताए । उनले अपराध गरेर कमाएको हो भन्न नसक्ने सम्पतीको भने कडा ढंगले अनुसन्धान गरेर दोषीमाथि कारबाही हुने गरी सरकारले सो विधेयक ल्याएको बताए । मन्त्री गुरुङले स्रोत नखुलेको सम्पती थाँती राख्न नमिल्ने भएकाले सरकारले त्यसलाई पनि अनुसन्धान गर्न कडा कानूनी व्यवस्था गर्न लागेको जानकारी दिए ।


उनले भने,‘यहाँ भ्रष्टाचार निवारण आयोगले कसैलाई पनि छोड्दैन । यो राष्ट्र सेवकहरुको सन्दर्भमा यो धारा आएको होइन । यसले कसैलाई पनि उन्मुक्ति दिँदैन । कसुरजन्य सम्पती कमाएको हकमा, अपराध गरेर कमाएको हकमा अथवा भ्रष्टाचार गरेर कमाएको हकमा कुनै पनि चाहेँ त्यो वडाध्यक्ष होस । सांसद किन नहोस् । अथवा मन्त्री किन नहोस् । प्रधानमन्त्री नै किन नहोस् । कसैलाई पनि उन्मुक्ति दिँदैन । यसले उन्मुक्ति दिने भनेको होइन । सम्पती कसुरजन्य हो भन्न पनि नसक्ने, अपराध गरेको कमाएको हो पनि भन्न नसक्ने अवस्था रह्यो । र, मुद्दा पनि नलागेको अवस्था रह्यो । मुख्य कुरा यो यो । यसको सम्बन्धमा कसैको पनि थाँति राख्न मिल्दैन ।’

बैठकमा सांसदहरुले स्रोत नखुलेको सम्पतीलाई बैधानिकता दिने गरी सरकारले विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए ।