ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता


काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीका ७९ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार गोर्खा सहकारीका २५, गौतमश्रीका ६, शिव शिखरका १३, आइडियल यमुना सहकारीका ३, ओरियन्टल को-अपरेटिभका ३ र कान्तिपुर सहकारीका २९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाटै पीडित बचतकर्ताको बचत फिर्ता गरिरहेको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको हो । आगामी चरणमा बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गरिनेछ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाबमोजिम फिर्ता गर्ने कार्य निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।