काठमाडौं – भन्सार विभागले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांकमा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब नाघेको छ। विभागले सार्वजनिक गरेकाे तथ्यांकमा चालू आर्थिक वर्ष २०८०/८१ को सातौ महिना अर्थात माघ महिनासम्ममा नेपालकाे ८ खर्ब ११ अर्ब ११ करोड व्यापार घाटा देखिएकाे हाे।
यो व्यापार घाटा गत आव २०७९/८० को सोहि अवधिको भन्दा १.७७ प्रतिशतले कम हो। गत वर्षको सोहि अवधिमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो।
माघ महिनासम्म ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। गत वर्षको सोहि अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।
विभागको तथ्यांक अनुसार माघ महिनासम्ममा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको यही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो।
त्यस्तै, यस अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ। गत वर्षको यही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो।
प्रतिक्रिया