बैंकिङ्ग समाचार ।
सरकारले आगामी आर्थिक वर्षमा कम्तीमा पनि एक तिहाइ नेपालीमा बीमाको पहुँच विस्तार गर्ने बताएको छ । शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
साथै, सार्वजनिक पूर्वाधार र सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानका रुपमा सञ्चालन गरिने उनको भनाइ छ । निजी घरको हकमा ५ हजारसम्मको बीमा प्रिमियमलाई आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न दिने व्यवस्था पनि गरिने बजेटमा उल्लेख छ ।
हालसम्म जीवन बीमा गर्नेले आयकरमा २५ हजार छुट पाउँदै आएका थिए । अहिले आएर सरकारले घर बीमा गर्ने व्यक्तिलाई आयकरमा ५ हजारसम्म छूट दिने भएको हो । युनाइटेड इन्स्योरेन्सका पुर्व कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले सामाजिक सञ्चालबाट यो व्यवस्था स्वागतयोग्य भएको बताएका छन् ।
यस्तै, सरकारले आगमी आवमा सबै स्थानीय तहमा स्वास्थ्य बीमा विस्तार गर्ने घोषणा पनि गरेको छ । साथै, ५० प्रतिशत जनसंख्यामा स्वास्थ्य बीमाको पहुँच विस्तार गरिने अर्थमन्त्री पौडेलले घोषणा गरे । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।
प्रतिक्रिया