९ अर्बको ऋणपत्र बिक्री गर्न ३ वाणिज्य बैंकले मागे बोर्डको अनुमति

९ अर्बको ऋणपत्र बिक्री गर्न ३ वाणिज्य बैंकले मागे बोर्डको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
तीन वाणिज्य बैंकले नौं अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नका लागि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।

बोर्डका अनुसार कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले गरी कुल ९ अर्ब रुपैयाँ बराबराको ९० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका हुन् ।

ऋणपत्र जारी गर्न अनुमतिका मागेकामध्ये कृषि विकास बैंकले ४ अर्ब, माच्छापुच्छ्रे बैंकले ३ अर्ब र लक्ष्मी बैंकले २ अर्बको ऋणपत्र बिक्रीका लागि अनुमति मागेका छन् ।

कृषि विकास बैंकले ४ प्रतिशत व्याजदरमा ८ र ९ वर्ष अवधिको लागि एग्रिकल्चर बण्ड नामक ऋणपत्र निष्काशन गर्नका लागि वैैशाख १३ गते निवेदन दिएको हो ।

बैंकले जारी गर्न लागेको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता एग्रिकल्चर बन्ड मध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता विभिन्न संघ संस्थालाई बिक्रीमा आउनेछ ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटललाई दिइएको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले पनि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दिएको छ ।

उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ ।

यसैगरी लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशनको लागि अनुमति माग्दै बैशाख ६ गते निवेदन दिएको छ ।

जारी हुने ऋणपत्रको ८ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी १२ लाख कित्ता बैंक आफैँले विभिन्न संघ संस्था तथा व्यक्तिलाई बिक्री गर्नेछ ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकम शतप्रतिशत कर्जा लगानीमा उपयोग गर्न पाइने र कर्जा लगानीका लागि स्थीर ब्याजदरमा लामो समयका लागि स्रोत जुट्ने भएपछि बैंकहरुले पछिल्लो समय ऋणपत्र बिक्रीलाई प्राथमिकतामा राख्न थालेका हुन् ।