विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि

विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि


काठमाडौं– पुस मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा रु. १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तसम्ममा रु. १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब २३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने असार मसान्तमा रु. १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा पुस मसान्तमा ११.८ प्रतिशतले वृद्धि भई रु. २खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ ।