काठमाडौं– आन्तरिक वायुसेवाको हवाई भाडा पुनरावलोकन गरिने भएको छ । पुनरावलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणकी उपमहानिर्देशक नविना कर्मचार्यको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।
समितिले हवाई भाडा बढाउनुपर्ने कारण, पछिल्लो समय बढेको वायुसेवाको लागत, जहाजको प्रकृति अनुसारको सञ्चालन खर्चसहितको विषयमा एक प्रतिवेदन तयार पार्ने र त्यसैका आधारमा हवाई भाडा पुनरावलोकन गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले बैंकिङ्ग समाचारलाई जानकारी दिए ।
प्राधिकरणका अनुसार विक्रम सम्वत् २०७३ पछि हवाई भाडा बढेको छैन । पछिल्लो ७ वर्षमा जहाजका पार्टसहरूको मूल्य, नेपाली रुपैयाँसँग डलर सटहीको दर, हवाई इन्धनको मूल्य, कर्मचारीको खर्च, बजारको मूल्य वृद्धिसहितका सम्पूर्ण पाटोलाई हेरेर हवाई भाडा बढाउनुपर्ने निष्कर्षमा वायुसेवा कम्पनीहरू पुगेका छन् ।
त्यसलाई अध्ययन गरेर पुनरावलोकन गरिने, अहिले भाडा बढ्ने/नबढ्ने यकिन नभएको र समितिको प्रतिवेदन आएपछि मात्र निर्णय गरिने प्रवक्ता निरौलाले बताए ।
प्रतिक्रिया