८ महिनामा मुलुकको आर्थिक स्थितीः ८ खर्ब ६३ अर्ब ब्यापार घाटा, रेमिट्यान्स ८.६ % बढ्यो

८ महिनामा मुलुकको आर्थिक स्थितीः ८ खर्ब ६३ अर्ब ब्यापार घाटा, रेमिट्यान्स ८.६ % बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।
यस आर्थिक वर्षको पहिलो ८ महिनामा ६ खर्ब ४२ अर्ब रेमिट्यान्स भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ८.६ प्रतिशतले बढेको हो।  अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब १८ अर्ब ७० करोड पुगेको छ। 

चालु खाता र सोधनान्तर स्थिति

समीक्षा अवधिमा चालु खाता १४८ अर्ब ६८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ११९ अर्ब ७० करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.८ प्रतिशतले बढेर ११ अर्ब ९१ करोड कायम भएको छ भने खुद प्रत्येक्ष वैदेशिक लगानी ३४.८ प्रतिशतले कमी आई रु.१० अर्ब १८ करोड कायम भएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ।

वैदेशिक व्यापार

चालु आवको पहिलो आठ महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले वृद्धि भई ८० अर्ब ७८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.३ प्रतिशतले वृद्धि भएको थियो। वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ।

आठ महिनामा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ६३ अर्ब २१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.३ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो।