काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको आरोप लगाएका छन् ।शुक्रवार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको आरोप लगाएका हुन् ।
साथै उनले बैंकहरुले ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने बताउँदै प्रतिफल नआउने गरी बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गरे ।
उनले भने,‘बैंकहरुले नराम्रो नमान्नु होला । बैंकहरु पनि मिटरब्याजी नै छन् । बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो । कर्जा लैजानेले तिर्नु पनि पर्छ होला । कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो । लगानी गरेर प्रतिफल आउनुपर्छ । प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र डब्बल कसरी हुन्छ । अरुले नकमाउने बैंकले मात्रै कमाउने तरिका ठिक भएन । ’
अध्यक्ष ओलीले निक्षेपकर्ता र ऋण लिनेहरु नै बैंकका जीवन भएकाले बैंकहरु नाफाखोर निर्मम साहुजी नभई विकासका सहयोगी बन्नुपर्ने औल्याए । (न्युज एजेन्सी नेपाल)



About Us
प्रतिक्रिया