‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना


चितवन– भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न ‘भरतपुर भ्रमण वर्ष २०२४’ को आयोजना गरिएको बताएकी छिन् । होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पारिन् ।

‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो । साथै भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य पनि हुँदैछ । पर्यटक पनि थपिँदै छन्’, उनले भनिन् । यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाड्ने काम गरिसकेको उनको भनाइ छ । साथैभरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताइन्।

भ्रमण वर्षका लागि भरतपुर–६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैँका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उनको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधैँ खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालको विश्वास छ। महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु निर्माण र खुला गर्न सकिएको प्रमुख दाहालले जानकारी दिइन् । दियालो बंगलाको स्तर उन्नतीको लागि ठेक्का आह्वान भइसकेको र भ्रमण वर्षको १० दिन अगाडि र पछाडि खुला हुने गरी काम अघि बढेको पनि उनले बताइन् ।