किसान लघुवित्तले पनि लाभांश नबाँड्ने, हकप्रदबाट पूँजी वृद्धि गर्ने प्रस्ताव

किसान लघुवित्तले पनि लाभांश नबाँड्ने, हकप्रदबाट पूँजी वृद्धि गर्ने प्रस्ताव


बैकिङ्ग समाचार । 

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको चैत ६ गते शुक्रबार सम्पन्न ६४ औं बैठकले नगद तथा बोनस कुनैपनि लाभांश वितरण नगरी हकप्रदबाट पूँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

चैत २९ गते कैलालीको लम्की चुहास्थित संस्थाको आफ्नै भवनमा बिहान ११ बजे आह्वान गरिएको दोस्रो वार्षिक साधारण सभामा लघुवित्तको चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव विशेष प्रस्ताव पारित गराउने भएको छ ।

उक्त प्रस्ताव साधारण सभाबाट पारित भएपछि लघुवित्तले नेपाल राष्ट्र बैकबाट हकप्रद जारी गर्ने स्वीकृति लिएर धितोपत्रको नियामक निकाय धितोपत्र बोर्डको अनुमति पछि मात्र लघुवित्तको हकप्रद बिक्रीमा आउनेछ ।

यस्तै सभामा हकप्रद जारीपछि संस्थाको अधिकृत, जारी र चुक्ता पूँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम संस्थाको प्रबन्धत्रका सम्बन्धित दफाहरु संशोधन गर्ने, मर्जर तथा प्राप्ती र नियमनकारी निकायबाट आवश्यक थपघट तथा परिमार्जनका लागि सञ्चालक समितिमा अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा रहेका छन् ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन सहितको वित्तीय विवरण, र लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने कार्यसूची छ ।

लघुवित्तले साधारण सभा आह्वान गरेको सूचनामा बुकक्लोजको मिति भने निर्धारण गरेको छैन ।

गत आवबाट एनआईसी एशिया, स्वदेशी, गुराँस, सामुदायिक, समाज, घोडीघोडा,र सपोर्ट माइक्रोफाइनान्सले पनि शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने घोषणा गरिसकेका छन् ।  हालसम्म ३७ लघुवित्तले लाभांश वितरण गरेकोमा ७ कम्पनीले बोनस तथा नगद कुनैपनि लाभांश वितरण गरेका छैनन् भने ६ कम्पनीको लाभांश वितरण गर्ने। नगर्ने निक्र्यौल भैसकेको छैन। ती कम्पनीको लेखापरीक्षण नसकिएकाले लाभांश के हुने भन्ने निश्चित नभएको हो ।