महिला लघुवित्त र ग्रीन लाइफको शेयर कारोबार आगामी सातादेखि

महिला लघुवित्त र ग्रीन लाइफको शेयर कारोबार आगामी सातादेखि


बैकिङ्ग समाचार ।

धितोपत्र दोस्रो बजारमा महिला लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको कारोबार आगामी सातादेखि हुने भएको छ । यसै साताभित्र सूचीकरणको प्रकृया सम्पन्न गर्ने गरी प्रकृया अघि बढाएका कम्पनीहरुले केहि प्राविधिक कारणले ढिलाइ भएको जानकारी दिएका हुन् । 

नेप्सेमा सूचीकरण गर्नुपूर्व दुवै कम्पनीहरुले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेका छन् । नेप्सेमा पनि दुवै कम्पनीले सूचीकरण प्रकृया अघि बढाइसकेकाले आगामी साताको दोस्रो दिनभित्र सूचीकरण सम्पन्न हुने बताइएको छ । सम्भवतः आगामी साताको तेस्रो कार्य दिनदेखि यी कम्पनीहरुको शेयर कारोबार सुचारु हुने नेप्सेको भनाइ छ । 

ग्रीन लाइफ हाइड्रोपावरले फागुन ७ गते र महिला लघुवित्तले फागुन १४ गते आईपीओ बाँडफाँट गरेको थियो । ग्रीन लाइफको शेयर संस्थापक, स्थानिय र सर्वसाधारणको गरी कुल १ करोड ८० लाख कित्ता र महिला लघुवित्तको १० लाख कित्ता शेयर सूचीकृत हुनेछ । 

ग्रीन लाइफको संस्थापकतर्फ ८० प्रतिशत, आयोजना प्रभावित स्थानियमा शून्य दशमलव ५८ प्रतिशत र सर्वसाधारणमा १९ दशमलव ४२ प्रतिशत शेयर स्वामित्व रहनेछ । यस कम्पनीले स्थानियका लागि छुट्याएको १० प्रतिशत शेयरमध्य ९ दशमलव ४२ प्रतिशत वितरण नभएकाले सर्वसाधारणमा थप गरी जारी गरेको हो ।  

त्यस्तै, महिला लघुवित्त वित्तीय संस्थाको संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व रहेको छ । ग्रीन लाईफको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल मार्केट्स लिमिटेड र महिला लघुवित्तको शेयर विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

यी दुई कम्पनीको पहिलो कारोबारका लागि कति पाउलान् मूल्य रेञ्ज ?
प्राथमिक बजारबाट प्रतिकित्ता रू. १०० मा खरीद गरेको यो शेयर दोस्रो बजारमा कतिमा कारोबार खुल्ला भन्ने कौतुहलता लगानीकर्तामा देखिएको छ । नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थदेखि माथि तीन गुणासम्म मूल्य तोक्ने गर्दछ । 

यस आधारमा महिला लघुवित्तको पहिलो कारोबारका लागि रू. ३१३ दशमलव १६ देखि रू. ९३९ देखि ४८ सम्मको मूल्य पाउने देखिन्छ । आर्थिक वर्ष ०७६/७७ सम्म महिला लघुवित्तको प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ । 

त्यस्तै, ग्रीन लाईफको पहिला कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ९९ दशमलव ६७ देखि रू. २९९ दशमलव शून्य १ सम्मको मूल्य रेञ्ज तोक्ने देखिन्छ । कम्पनीको आर्थिक वर्ष ०७६/७७ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९९ दशमलव ६७ रहेको छ ।