धितोपत्र बोर्डद्धारा ४ वटा कम्पनीको आईपिओ प्रक्रिया रद्द

धितोपत्र बोर्डद्धारा ४ वटा कम्पनीको आईपिओ प्रक्रिया रद्द


  बैकिङ्ग समाचार ।

नेपाल धितोपत्र बोर्डले ४ वटा कम्पनीको आईपिओ प्रक्रिया रद्द गरेको छ । बोर्डले आइपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा पेश गरिएका मध्ये ४ वटाको आवेदन रद्द गरेको हो।

बोर्डले सुभम पावर, तेह्रथुम पावर, सिविआईएल क्यापिटल र इमर्जिङ नेपालको आवेदन रद्द गरेको हो । सार्वजनिक निष्काशनको प्रक्रिया अगाडी बढाएका तर बोर्डले माग गरेका कागजात तथा विवरणहरु समय मै उपलब्ध नगराएका कारण यी कम्पनीको आवेदन रद्द गरिएको बोर्डले जनाएको छ  । 

बोर्डका अनुसार यी कम्पनीहरुले बोर्डले माग गरेको आवश्यक कागजातहरु ६ महिना बिती सक्दा पनि पेश नगरेकोले आवेदन रद्द गरिएको हो  । बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार बोर्डले कमेन्ट पठाएको ६ महिना वा सो भन्दा बढी समयसम्म पनि कुनै जवाफ नदिएका कम्पनीको आईपिओ आवेदन रद्द गरिएको हो  । उनका अनुसार अब ति कम्पनीले आईपिओ निष्काशन गर्नको लागि सुरु देखि नै प्रक्रिया अगाडी बढाएर आवेदन दिनु पर्ने छ ।  त्यस्तै बोर्डले यहि कारण देखाउदै एचआईडिसीएसल, बरुण हाइड्रो, ङादी हाइड्रो, र श्रीराम सुगर मिल्सको हकप्रद आवेदन पनि रद्द गरेको छ । 

बोर्डले आईपिओ र  हकप्रदमा मात्र नभई , ऋणपत्र, एफपिओ, लगायतका सार्वजनिक निष्काशनमा यहि प्रक्रिया अपनाउने भएको छ  । जस अनुसार बोर्डले आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका तर बोर्डले कमेन्ट पठाएको ६ महिनासम्म पनि केहि जवाफ नदिएका कम्पनीको आवेदन पनि रद्द गरिने बोर्डले जनाएको छ  । यस संगै उनीहरुले अझै सार्वजनिक निष्काशन गर्न चाहेमा फेरी आवेदन दिएर नयाँ प्रक्रिया थालनी गर्नु पर्ने छ  । 

बोर्डका अनुसार ऋणपत्र र म्युचुअल फण्डमा यस्तो समस्या नदेखिए पनि आईपिओ र हकप्रदमा समस्या देखिएको हो ।  सोहि कारण बोर्डले हकप्रद र आईपिओको पाइपलाइनमा रहेका र ६ महिनासम्म कुनै जवाफ नदिएका कम्पनीहरुको आवेदन रद्द गरेको हो ।