बैकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सुरु भएको पहिलो दिन नै नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित कारोबार सुरु भएको १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
बैंकको NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । बैंकको पहिलो कारोबार ३४० को मूल्यमा भएको थियो । प्रि ओपन सेसनमा बैंकको ७ हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको थियो । ११ बजे नियमित कारोबार सुरु भएकोमा ११ बजेर १ मिनेट मै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ३७४ को बिन्दुमा पुगेको छ ।
गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो। नेप्सेले पहिलो कारोबारको लागि ११३.६२ देखि ३४०.८६ रुपैयाँसम्मको रेन्ज तोकेकोमा उच्च बिन्दुबाट कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । बैंकको आरटिएस ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।
प्रतिक्रिया